काठमाडौँ, २० असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९औँ शिखर सम्मेलन अर्को मितिमा हुने गरी वातावरण तयार पार्नका लागि अध्यक्ष राष्ट्रका रूपमा नेपालले समन्वय र परामर्श अगाडि बढाउनुपर्ने विज्ञले बताएका छन् ।
पाकिस्तानको इस्लामाबादमा कात्तिक २४ र २५ गते बस्ने भनिएको शिखर सम्मेलन भारत र पाकिस्तानबीचको विवादले स्थगित गरिएको छ । तत्कालका लागि सम्मेलन स्थगित भए पनि अर्को बैठक कहाँ र कहिले बस्नेबारेमा नेपाल सरकारले अध्यक्ष राष्ट्रको नाताले परामर्शमा अगुवाइ गर्नुपर्ने बिज्ञहरुले सुझाब दिएका छन् ।
असोज २ गते भारतको जम्मुकाश्मीरस्थित उरीमा भएको घटनापछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । सोही कारण निर्धारित सार्क सम्मेलन भारत र पाकिस्तानको आग्रहमा स्थगित गरिएको हो । नेपालले घटनाप्रति दुःख व्यक्त गर्नु राम्रो पक्ष भए पनि सबै सार्क सदस्य राष्ट्रसँग निरन्तर समन्वय र परामर्श गर्नु आवश्यक रहेको तर्क विज्ञको छ ।