रोल्पा, २७ बैशाख
द्वन्द्वको समयमा विस्थापित भएका रोल्पा क्षेत्र नं। २ अन्तरगत घर्तीगाउँमा रहेका इलाका कार्यालयहरु १७ वर्षसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउदै २०५६ फागुन ६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँ विस्थापित भएपछि यहाँका सबै इलाका कार्यालयहरु पनि विस्थापित भएका थिए ।
तर देशमा शान्ति प्रक्रिया सुरु भएको १० बर्ष पुग्न लाग्दा पनि प्रहरी कार्यालय बाहेक अन्य कुनै पनि इलाका कार्यालयहरु पुनःस्थापना भएका छैनन् । इलाका कार्यालयहरु पुनःस्थापना नहुँदा रोल्पा निर्वाचन क्षेत्र नं। २ अन्तरगतका करिब २० गाविसका स्थानीयहरुलाई समस्या भएको छ ।
जग्गा पास गर्न, नागरिकता बनाउन, पासपोर्ट लगायत सामान्य सिफारिस बनाउनको लागि दुई, तीन दिन हिडेर सदरमुकाम लिबाङ जानुपर्ने बाध्यता रहेको छ । नागरिकता बनाउनका लागि अभिभावक अनिवार्य जानुपर्ने भएकाले समसया भोग्नुपरेको स्थानीय देबराज वलीले गुनासो गर्नुभयो ।
ईलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि सरोकरा राख्ने निकायसंग माग गर्दा पनि सुनुवाई नभएको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष गोपाल घर्तिको भनाई छ । स्थानीयको माग अनुसार कार्यालय पुनःस्थापनाका लागि मन्त्रालयमा पहल भएको तर कर्मचारी अभावमा इलाका कार्यालय पुनःस्थापना गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।