तुलसीपुर १८ असोज । तुलसीपुर नगरपालिका वडा नं. ६ मा विगत १२ दिनदेखि धारामा पानी आएको छैन ।
दुईहप्ता देखि धारामा पानी नआएपछि स्थानीय सयौं उपभोक्ताले खानीपानीको जोहोगर्न अनावश्यक कष्ट झेल्नु परेको छ ।
सडक विस्तारका क्रममा खानेपानीको विस्तारित पाईपलाईन काटिएपछि धारामा पानी नआएको हो । तुलसीपुर–घोराही सडक खण्ड ६ लेनको निर्माण गर्नेक्रममा स्काभेटरले खानेपानीका विस्तारित पाईप काटिएपछि वडा नं. ६ स्थानीयवासी खानेपानीवाट बञ्चित हुनुपरेको हो ।
दुईहप्तादेखि तुलसीपुरको घोराही रोडस्थित जयभगवती टोलविकास संस्था, खैरावाङ टोल विकास संस्था भिआईपी टोल विकास संस्था, गुल्मटोल,विद्युत्त प्राधिकरण पछिाडिको टोललगाएतका स्थानमा बसोवास गर्ने झन्डै आठसय जति जनसंख्या खानेपानीको समस्यामा परेको स्थानीय वसन्त खड्गीले जानकारी दिनुभयो । खानेपानीद्धारा वितरण धारामा दुईहप्ता देखि पानी नआउँदा खानेपानीका लागि सास्ती खेप्नु परेको उनले बताउनुभयो ।
एकगाग्री पानी भर्नका लागि वडा नं. ६ बासीहरु तीन किलोमिटर टाढाको रानीघाट खोलामा पुगेर पानी ल्याउनुपर्ने कठिनाई भोग्नु परेको खड्कीले गुनासो गर्नुभयो । खानेपानीका काटिएका धारा जडानका लागि तुलसीपुर खानेपानीलाई पटक÷पटक आग्रह गर्दापनि ध्यान नदिएको पनि उनले गुनासो गर्नुभयो ।
धारामा पानी आउन छोडेपछि ट्याङकरको पानी एक दिन विराएर खरिद गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसवाट व्ययभार बढी परेकोले यथाशक्य चाँडो खानेपानीको व्यवस्थापन गरिदिन माग स्थानीय गरिएका छन् ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संसथाले भने सडक निर्माणका क्रममा वडा नं. ६मा काटिएको पानी विस्तारित पाईपको मर्मतसंगै उपभोक्ताको धारा जडान कार्य आगामी आइतवार देखि सुरु गरेको जानकारी दिएको छ ।
