mohan-prasad-baralकाठमाडौँ, १४ असोज ।c सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिनुभएको हो ।

नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपाली प्रस्तावक र नेकपा एमालेका काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिनुभएका उहाँ बिहीबार निर्विरोध सभापति पदमा चयन हुनुभएको हो ।

नेपाली काँग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका सभापति बराल यसअघि अर्थसमितिको सदस्य हुनुहु्न्थ्यो ।

सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गर्नुभएको थियो । उहाँले लामो समयसम्म प्राध्यापन गर्नुभएको थियो ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय हुँदा पटक पटक गरी उहाँले एक वर्ष जेल जीवन बिताउनुभएको छ ।

यसअघि उक्त समितिको सभापतिको जिम्मेवारी गगनकुमार थापाले वर्तमान मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्रीभएसगै सभापति पद रिक्त भएको थियो ।