काठमाडौं, १४ असोज । भारत र पाकिस्तानबीच युद्धको चर्काचर्की चलिरहदा तयसको प्रभाव नेपाल भारत सिमानामा देखिएको छ ।
दशैं मनाउन नेपाली घर फर्किने क्रम बढिरहेका बेला भारतीय पक्षले नेपाली सीमानामा सुरक्षामा कडाई गर्नुका साथै चेकजाँचलाई वढाएको छ ।
उत्तरप्रदेशको राजधानी लखनउस्थित राज्य सरकारले भारत(पाकिस्तानको लाइन अफ कन्ट्रोल (एलओसी) मा बढेको तनावलाई ध्यान दिँदै नेपाली सीमामा सुरक्षा बढाउन निर्देशन दिएको छ । उत्तरप्रदेशबाट नेपाली सीमाना जोडिएका क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गस्ती र सुरक्षा चेकजाँचलाई तीब्र बनाएको छ ।
उत्तरप्रदेशको लखनउसहितका सहरका पुरातात्विक महत्वका स्थान, पर्यटकीय केन्द्र, मानिसको बाक्लो उपस्थिति हुने सार्वजनिक स्थान, रेल र बस स्टेशन, सपिङ मल र फिल्म हलहरुमा सुरक्षाकर्मीले गस्ती तीब्र बनाएका छन् । राज्य सरकारले आग्रा, कानपुर, मिरुत र लखनउमा थप सुरक्षा बल पनि तैनाथ गरेको छ । त्यसैगरी विमानस्थलमा सैनिकमार्फत निगरानी थालिएको छ ।
त्यसैगरी नेपालसँग सीमाना जोडिएका क्षेत्रमा विशेष सुरक्षा चेकजाँच पनि थालिएको छ । समाचार अनुसार सुरक्षाका हिसाबले संवेदनशील मानिएका नेपालसँग जोडिएका महाराजगन्ज, बहराइच, गोन्डा र गोरखपुरमा सवारीसाधनको आवतजावतमा कडाई गर्दै चेकजाँच थालिएको छ।
राज्य सरकारले संवेदनशील ठानिएका अन्य स्थानहरुमा पनि सुरक्षाकर्मीलाई नजिकबाट निगरानी गर्नका लागि तैनाथ गरिरहेको छ । त्यस्तै नेपागञ्जको रुपैडिहा नाकामा पनि भारतीय पक्षले हिजोदेखि कडाइ गरेको बताइएको छ ।





