काठमाडौं, १४ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र कक्षा १२ दुवै तहलाई प्रवेशिका (स्कुल लिभिङ सर्टिफिकेट एसएलसी) बनाउने प्रस्ताव गरेको छ ।

8c1a8ccdb28ddff28e9ece0fa758f218गत असारमा जारी संशोधित शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तह कायम गरेपछि नयाँ संरचनाअनुसार दुई तहको परीक्षालाई एसएलसीकै रूपमा रहने प्रस्ताव गरेको हो । ‘छिमेकी मुलुक भारतको सीबीएसई बोर्डले समेत दुवै तहलाई एसएलसी नै भनेका आधारमा उपयुक्त हुने भएकाले प्रस्ताव गरिएको छ,’ बिहीबार शिक्षा विभागमा आयोजित पत्रकार भेटघाटमा विभागका महानिर्देशक बाबुराम पौडेलले भने, ‘शिक्षा नियमावली बन्ने क्रममा रहेको हुँदा एसएलसीको प्रस्ताव गरिएको हो ।’ उक्त प्रस्ताव मन्त्रालयमा पठाइएको छ ।

विद्यालयको नयाँ संरचनाअनुसार कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम गरिएको छ । विद्यार्थीले कक्षा ९ देखि प्राविधिक र नियमित गरी दुई धारमा शिक्षा लिन सक्नेछन् । अहिलेसम्म कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी मानिएको छ । दुवै तहको परीक्षालाई हेर्ने निकायका रूपमा राष्ट्रिय परीक्षा बोर्ड रहनेछ ।