पोखरा । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको पोखरामा सवारी हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । राष्ट्रपति भएपछि पहिलो पटक पोखरा आएकी राष्ट्रपति भण्डारी सवार भएको समयमा सबै प्रकारका सार्वजनिक तथा निजी गाडीहरु गुड्न रोक लगाएपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको हो ।
बुधबार पोखरा आएकी राष्ट्रपति विहीबार विन्ध्यबासिनी मन्दिर प्रांगणमा आयोजित हेमदेवी धर्म सेवा तथा संस्कृति पुरस्कार अर्पण समारोहमा सहभागि हुन गएकी थिइन् । सो कार्यक्रम पश्चात लेकसाइडस्थित फेवाताल अवलोकनमा जाँदा ति रुटहरुमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
‘राष्ट्रपति हाम्रो लागि हुनुपर्ने हो,’ पोखराका अटो व्यवसायी इच्छामान बुद्धाचार्यले भने, ‘जुन जोगि आएपनि उस्तै रहेछ, पहिले-पहिले तत्कालिन राजा आउँदा यस्तै हुन्थ्यो, अहिले राष्ट्रपति आउँदा पनि त्यस्तै छ, जसरी पनि जनताले दुःख पाउने रहेछ ।’
पसलसमेत बन्द
उनले राष्ट्रपति आउँदा जनताले दुःख पाउनु अत्याचार जस्तै भएको बताए । हुन पनि राष्ट्रपति सवार हुने भन्दै सवारी साधन सञ्चालनमा रोक लगाएपछि स्थानियले सो रुटमा पर्ने पसलहरु पनि खोलेनन् । पसलहरु खोल्न हुने कि नहुने भन्ने अन्यौलमा हुँदा पसल नखुलाएको ब्यावसायीको भनाई छ ।
यसअघि राष्ट्रपति भण्डारी बुधबार आएलगत्तै बाटुलेचौरमा आयोजित मातृ शिशु मितेरी अस्पताल हस्तान्तरण कार्यक्रममा सहभागि हुँदा होस् वा पोखरा ग्राण्डमा आयोजित रोटरी इन्टरनेसनल ३२९२ को सम्मेलनमा जाँदा होस् दुवै कार्यक्रममा जाने क्रममा पर्ने बाटोमा सर्वसाधारणका सवारी सञ्चालनमा रोक लगाउँदा सास्ती बेहोर्नुपरेको थियो ।
राष्ट्रपतिलाई भेट्न नपाउँदा आक्रोश
राष्ट्रपति भएपछि पहिलोपटक पोखरा आएकी भण्डारीलाई हेर्न र भेट्न पुगेका सर्वसाधारण भेट्न नपाएपछि आक्रोशित पनि भए । पोखरा विन्ध्यबासिनी मन्दिरमा राष्ट्रपति आउने खबर पाएका स्थानीय विहान ७ बजेदेखि नै लामबद्ध भएर बसेका थिए ।
राष्ट्रपति आउने भन्दै प्रहरीले स्थानियलाई नजिकका क्षेत्रमा नबस्न उर्दी गरेपछि स्थानीय महिलाहरुको एक समूहले प्रहरीसँग विवाद नै गरेको थियो । उनीहरु हामीले नै चुनेको राष्ट्रपतिलाई हामीले भेट्न नपाउने भन्दै थिए ।
