काठमाडौं, १३ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछउन नेपाल टेलिकमलाई ५ अर्ब दिने भएको छ । त्यस क्षेत्रका विभिन्न १२ जिल्लामा अप्टिकल फाइबर पु¥याउन ५ अर्ब रुपैयाँ प्रदान गर्ने भएको हो । दूरसञ्चारमा पहुँच वृद्धिका लागि ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) मा जम्मा भएको रकम टेलिकमलाई दिइने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

optical-fiberटेलिकमले मध्यपहाडी लोकमार्गमा पर्ने ती जिल्लाहरुमा २ वर्षभित्र अप्टिकल फाइबर विस्तार गरिसक्नपर्ने छ । जसका लागि प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौताअनुसार पूर्वमा पाँचथरको चिवा भञ्याङदेखि पश्चिममा गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनेछ । निर्माणाधीन लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर बिछ्याउन थालिएको हो ।

यस्तै, प्रदेश दुईमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुंगा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गर्ने सम्झौता भएको छ ।