काठमाडौं, १२ असोज । दुबै देशबीच चर्काचर्की परिरहेको वेला पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई नेपाल वा भुटान जस्तो कमजोर नठान्न भारतलाई कडा चेतावनी दिएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको बताउँदै नेपाल र भुटान जस्तो नठान्न चेतावानी दिएका हुन् ।
‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ती भारतले नगरोस्’, उनले भनेका छन् । मुसरफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बदनाम गराइरहेको पनि बताए । सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणामा प्रतिक्रिया दिँदै मुशर्रफले भनेका छन्, ‘आफूलाई मन लाग्दा मोदी पाकिस्तानमा आउँछन् । एकातर्फ नवाज शरीफलाई जन्मदिनको शुभकामना दिन आउँछन् अर्कोतर्फ पाकिस्तानलाई दुनियाँभर बदनाम गराउँछन् । जन्मदिनमा बधाइ दिन पुग्नु सधैं काम लाग्दैन ।’
मुशर्रफले भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न चाहँदैन भन्दै मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’’ त्यस्तै सार्क सम्मेलन बहिस्कार गर्ने भारतको सार्वजनिक अभिव्यक्तिप्रति पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्तामोहम्मद नफीज जाकारियाले ट्वीटमार्फत स्टेटमेन्ट जारी गर्दै कडा आपत्ति जनाएको छ ।