इन्द्रेणी संवाददाता
तुलसीपुर, १२ असोज । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको भन्ने कुरा वाईह्यात हल्ला मात्रै भएको बताएका छन् ।
आज रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा पुनले यो हल्ला मात्रै भएको र यदि त्यसो कसैले गर्न खोज्छ भने त्यो स्वीकार्य नहुँने बताए । ‘पहिलो कुरा त मेरो विचारमा यो हल्ला मात्रै हो’, उनले भने, ‘यदि त्यसो कसैले गर्न खोजी हाल्छ भने त्यो कसैलाई स्वीकार्य हुदैन, गर्नुपनि हुदैन ।’
कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसमा मात्रै हुने पुनले बताए । हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिदै छ भन्नु राजनैतिक रुपमा उचाल्नु उत्तेजित बनाउने फैलाउनु मात्रै भएको उनको भनाइ थियो । अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनका लागि गरिएको षडेन्त्र भएको नेता पुनले बताए ।
प्रधानमन्त्रीको भारत बारे विभिन्न टिकाटिप्पनी भइरहेको सवालमा नेता पुनले कसले के भन्छ भन्दा पनि भ्रमणको के उपलव्धी भयो भन्ने कुरा मुख्य कुरा भएको बताए । भ्रमणले दुई देशबीचको चिसिदो सम्बन्धलाई न्यानो बनाएको पुनको भनाइ छ । कार्यक्रम क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।
