भरतपुर, १२ असोज । भदौ १० गते नारायणगढ–मुग्लिन सडकखण्डमा बनाइएको प्यारापिट भत्काउँदै बस त्रिशूलीमा खस्दा २५ यात्रुको ज्यान गयो तर बसले भत्काएको प्यारापिट (सडकको छेउमा बनाइने होचा पर्खाल) अहिलेसम्म बनेको छैन ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको यो यात्रु बस चितवनको चण्डीभञ्ज्याङ गाविसको वडा नं ५ मा पर्ने कालीखोलाबाट प्यारापिट भत्काउँदै त्रिशूली नदीमा खसेको थियो ।
यतिमात्रै हैन, भदौ तेस्रो साता दारेचोक–३, घोप्टेभीरबाट ट्रक खस्यो । त्यो ट्रकमा रहेका दुईजना र ट्रक अझैसम्म फेला परेका छैनन् । ट्रक खसेकै ठाउँबाट आइतबार पूर्वमन्त्री माधव घिमिरेसहित उहाँको परिवार सवार गाडी त्रिशूलीमा खस्दा तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घिमिरे अझै फेला पर्नुभएको छैन । ट्रकले भत्काएको प्यारापिट समयमै बनाइएको भए सम्भवतः पूर्वमन्त्री घिमिरे चढ्नुभएको गाडी त्रिशूलीमा नखस्न सक्थ्यो ।
माथिका यी घटना प्रतिनिधि घटना हुन् । ठूला दुर्घटना भएपछि बाटोको अवस्था र मर्मत सुधारमा दिनुपर्ने ध्यानका बारेमा चर्चा गरिन्छ तर पछि त्यो त्यसै सेलाएर जान्छ । यस्तै कालीखोलाको दुर्घटनालगत्तै ट्राफिक प्रहरी, डिभिजन सडक कार्यालय र नारायणगढ मुग्लिन सडक आयोजनाको संयुक्त प्राविधिक टोलीले सो सडकखण्डको दुर्घटना जोखिम अध्ययन गरी कालीखोलासहित ३२ स्थानमा सुरक्षा सतर्कताका लागि विभिन्न निर्माण कार्य गर्न सुझाव दिएको थियो । तर, त्यो एक महिना हँुदा पनि कार्यान्वयनमा आएको छैन ।
“नारायणगढ–मुग्लिन सडकका जोखिम क्षेत्र पहिचान गरी मर्मत सुधारका लागि सुझाव दिइएको थियो तर त्यो कार्यान्वयन भएन”, चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले भन्नुभयो, “राजमार्गको पुनःनिर्माण गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले नै निर्माणमा ढिलाइ गरिरहेको छ । ”
“दुर्घटना रोक्न नगरी नहुने काममा यस्तो ढिलासुस्ती हुन नहुने हो । अलि ध्यान दिएर काम गर्नुपर्ने हो, त्यसो भएको पाइएन”, प्रहरी उपरीक्षक कुँवरले भन्नुभयो । प्राविधिक टोलीले जोखिमयुक्त स्थानमध्ये कतिपय स्थानमा प्यारापिट बनाउन, कतै सडक सङ्केत राख्न त कतै बढी घुमाउरो स्थानमा सडक चौडा गराउन र केही पुलमा रेलिङ निर्माण गर्न सुझाव दिएको थियो ।
३२ स्थानलाई जोखिम क्षेत्र पहिचान गरिएयता यो सडकबाट भदौ महिनामा मात्रै छवटा सवारी साधन त्रिशूली नदीमा खसे तर यो सडकमा तत्काल गर्न सकिने मर्मत सुधारका काम पनि गर्न सकिएन ।
“जोखिमयुक्त क्षेत्र पहिचान गरिएका स्थानमा काम नै नभएको भने होइन । केही स्थानमा त काम भएका छन्”, आयोजनाका प्रमुख चन्द्रनारायण यादवको दाबी छ, “३२ स्थानलाई जोखिम क्षेत्र मानिएको मध्ये ११ ठाउँको काम पूरा भएको छ । ”
यस्तै पाँच ठाउँमा निर्माणको काम सुरु भएको र बाँकी ठाउँमा कामै सुरु हुन नसकेको प्रतिवेदन पनि आयोजनाले जिल्लास्थित सुरक्षा संयन्त्रलाई बुझाएको छ । भदौ १२ गते प्राविधिक टोलीले सडकको अवस्था अनुगमन गरेर जोखिम क्षेत्र पहिचान गरी सुधारका लागि भदौ १५ गते नारायणगढ–मुग्लिन सडक आयोजनालाई पत्र लेखेको थियो ।
विषयवस्तुको संवेदनशीलतालाई ध्यानमा राखेर अविलम्ब निर्माण तथा मर्मतसम्भार गर्न पत्रमा अनुरोध गरिएको थियो । तर, त्यो पूरा नहँुदा दसैँतिहार जस्ता ठूला चाडबाडका बेला सवारी साधनको चाप बढी हँुदा दुर्घटना अझै बढ्ने हो कि भन्ने चिन्तामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूमा छ ।
