इन्द्रेणी संवाददाता
घोराही, ११ असोज । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गम्भीर गल्ती गरेको आरोप लगाएका छन् । दाहालले भारत भ्रमणका क्रममा गर्ने नहुँने विभिन्न सन्धिमा सम्झौता गरेर, नेपालको आन्तरिक मामला संविधान औपचारिक छलफल र नेपालका विभिन्न परियोजनामा सरकार र भारतीय दुतावासका प्रतिनिधिले अनुगमन गर्नेजस्ता सम्झौता गरेर गम्भीर गल्ती गरेको नेपालले बताए ।
छलफल चौतारी दाङले आज वेलुका दाङको घोराहीमा आयोजना गरेको संविधान निर्माणको एक वर्ष, सम्भावना र चुनौती विषयक कार्यक्रममा नेपालले प्रधानमन्त्रीको भ्रमण र त्यहाँ भएका विभिन्न सम्झौताले नेपालको संविधान कार्यान्वयनमा समेत आशंका उव्जीएको बताए । एमालेका वरिष्ठ नेता समेत रहेका नेपालले दाहालको भारत भ्रमणले विवाद उत्पन्न गरेको बताए । ‘भ्रमणका क्रममा प्रधानमन्त्रीले गम्भीर गर्नै नहुँने गल्ती गरेका छन्’, उनले भने, ‘वरु ज्ञान थिएन भने ज्ञान लिन जान्नुपर्छ, वेहोसिपारामा सहमति गर्नु त भएन नि ।’
उच्च अदालत तोक्नु र चैत्रमै स्थानीय निर्वाचन गर्छाै भन्नु सरकारको राम्रो पक्ष भएको उल्लेख गर्दै यो संविधानको कार्यान्वयनका चरणको शुरुवात भएको उनले बताए । तर, कसैको दवावमा यो काम सरकारले रोक्न सक्ने आशंका व्यक्त गर्दै नेता नेपालले भने, ‘यो सरकारको के भर, कसैको दवावमा हँुदै गरेको काम पनि रोकिने पो हुन कि, एमालेको सरकार भए पो भर ।’ स्थानीय निर्वाचन गर्नेमा एमाले पूरै विश्वस्त नरहेको नेपालको भनाइ थियो ।
अहिलेको संविधान ९० प्रतिशत जनाताका प्रतिनिधिको सहभागीतामा बनाइएको भन्दै यसको कार्यान्वयनमा एमालेले सहयोग गर्ने बताए । ‘यो सरकारले स्थानीय, प्रदेश, केन्द्रीय सबै चुनाव गराखोस्, संविधान कार्यान्वयनका काम अघि वढाओस, त्यसमा एमालेले सहयोग गर्छा’, नेपालले भने, ‘एमाले हलो अड्काएर गोरु चुट्ने पक्षमा छैन ।’ तर संविधानलाई समायानुकुल रुपमा मात्रै संसोधन गरिनुपर्ने नेपालको तर्क छ ।
नागरिकता सम्बन्धी हल्लामा एमाले सहमति छैन
नेता नेपालले अहिले सिधै विदेशी नागरिकलाई यहाँको राष्ट्रपति, प्रधानमन्त्री बन्ने गरी नागरिकता दिने हल्ला चलिरहेकाले यसमा एमाले कहिल्यै सहमति नहुँने बताए । ‘खास कुरा के हो थाहा छैन, हल्ला सुनिन्छ, वाहिरका मान्छेलाई यहाँको राष्ट्रपति बन्न पाउने हुन रे प्रधानमन्त्री बन्न पाउने हुन रे यसरी नै नागरिकता दिइदै छ रे, यसमा एमाले कहिल्यै सहमतिमा छैन’, उनले भने ।
एमाले मधेस विरोधी भन्नुमा सत्यता छैन
नेता नेपालले अहिले एमालेलाई मधेस विरोधी भन्दै आएकाले यसमा कुनै सत्यता नभएको बताए । एमाले मधेसी जनताको पक्षम भएको चर्चा गर्दै नेता नेपालले यो हल्लामा कुनै सत्यता नभएको दावी गरे ।
