काठमाडौं, १० असोज उद्योगमन्त्री नवीन्द्रराज जोशीले लामो समयदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडको सोमवार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा लिमिटेडका कर्मचारीले सिटामोलसहितका औषधि उत्पादन गरेर देखाएका थिए । मन्त्री जोशीले लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औधिषी उत्पादन गरिने बताए ।

nepal-aushadhi-limited-medicine-1-1सञ्चारकर्मीसँगको कुराकानीमा उनले लिमिटेड पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे । सरकारले अतिआश्यक ७० प्रकारका औषधि विभिन्न कम्पनीबाट किनेर निःशुल्क वितरण गरिरहेको छ । मन्त्री जोशीले ती औषधि उत्पादन गर्न सके लिमिटेड दिगो हुने बताए ।

निजी क्षेत्रलाई असर नपार्ने गरी बाहिरभन्दा बढी गुणस्तरीय र कम मूल्यमा उत्पादन गर्न सक्ने क्षमता रहेको बताएका थिए ।
लिमिटेड पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने भएकाले नयाँ उपकरण ल्याउँदै उत्पादन थप्दै जाने र एक वर्षसम्ममा ४८ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको जोशीको भनाई छ ।

औषधि लिमिटेड मात्र नभई बन्द भएका अन्य सार्वजनिक उद्योग पनि सञ्चालनका लागि पहल गरिहेको जोशीले बताए । निजी क्षेत्रलाई पनि संलग्न गराउन सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गरिने भन्दै मन्त्री जोशीले मन्त्रालयले औषधि लिमिटेड सञ्चालनमा निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म सेयर दिने तयारी गरेको बताए ।