दाङ, २४ बैशाख
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन हिन्दू धर्मावलम्बीले आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाईने चलन छ ।
यस दिन जन्म दिने आमाको मुख हेर्नको लागि भनेर सन्तानहरु आफ्नो आमा भएको ठाँउमा गएर आफुले सके अनुसारको मीठा परिकार खुवाउनुका साथै बस्त्रद्वारा आमालाई खुसी तथा प्रशन्न पार्ने गरिन्छ । घरबाट बाहिर रहेका र विवाह गरि घरजम गरेका धेरै जसो छोराछोरी आमाको मुख हेर्न आमाकहा जाने गर्दछन् ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् र कष्टपूर्ण कामको सम्झना गदै आमालाई सम्झिने पनि गर्दछन् । आजका दिन गरेको दान र दिएको भेटिले आमालाई शुभ हुने र आमाले स्वर्गमा भाग पाउने धार्मिक जनविश्वास रहिआएको छ । जलाशय तथा आमाघर एवं बृद्धाश्रममा पुगेर समेत आज आमा भएका तथा नभएकाहरुले आफुले सक्दो दान धर्म गर्ने चलन पनि पछिल्लो समय बढ्दो रुपमा रहेको छ ।।
