जाजरकोट, १० असोज । जाजरकोटको भेरिमालिका–३ स्याँलापाखा सामुदायिक वन क्षेत्रमा पाँच सय ८० राउण्ड गोली फेला परेको छ ।
जाजरकोट–डोल्पा सडकखण्डको काम हेर्न गएका गाउँलेले जंगलको भिरमा केही गोली देखेपछि खोजी गर्दा ठूलो परिमाणमा गोली भेटिएको हो ।
जाजरकोट–डोल्पा सडकको दक्षिण तर्फ एक सय मिटर तल गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहोराले बताए। फेला परेका गोली मध्ये तीनवटा पेस्तोलमा, ९ वटा इन्सास राईफलमा तथा पाँच सय ६८ वटा एके ४७ मा लाग्ने रहेको बोहोराले जानकारी दिए ।
सशस्त्र द्वन्द्वकालमा माओवादीले लुकाएको गोली अन्यत्र लैजाने क्रममा जंगलमा छाडेर भागेको हुन सक्ने उनले बताए ।
दुईवर्ष अघि पनि प्रहरीले जाजरकोट रिम्नाको रानीवनमा ठूलो मात्रामा हतियार फेला पारेको थियो ।
