विराटनगर, १० असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताएकी छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरू लाग्नुपर्ने बताइन् । “संविधान हेरफेर गर्दै जाने हो भने असन्तुष्टि झन् बढ्दै गएर मुलुकमा अस्थिरता निम्तिन्छ,” उनले भनिन्, “अहिले संशोधनभन्दा पनि कार्यान्वयनतर्फ सबै दलको ध्यान केन्द्रित हुनुपर्छ ।”
कोइरालाले संविधान सशोधन गर्न सबै दलको सहमति आवश्यक भएकाले प्रमुख प्रतिपक्षी दललाई सहमतिमा नल्याई संविधान संशोधन हुन नसक्ने उनको भनाइ थियो । “सीमांकन हेरफेर गर्दै जाने हो भने झनै अस्थिरता निम्तिन्छ,” उनले थपिन्, “संविधानमा उल्लेख भएका ७ वटै प्रदेशलाई कार्यान्वयन गरौं ।”