बाँके, ५ असोज । भेरी यातायात प्रालिले सिण्डिकेटलाई चुनौती दिँदै बाँके र बर्दियाका यात्रुहरुलाई स्तरीय सेवा दिन ल्याएका नयाँ बसमा सिन्डिकेट पक्षधरले तोडफोड गरेका छन् । यात्रुलाई सुविधा दिन एम्बुलेन्स सुविधासम्पन्न वातानुकुलित एसी बस सञ्चालनमा ल्याएपछि सिण्डिकेट पक्षधरहरु तोडफोडमा उत्रिएका हुन् ।

6c057e24f4b783e28bd63f0d3fa063c1सिण्डिकेट लादेर बस सञ्चालन गर्दै आएको समूहले आफ्ना ५ वटा नयाँ बसमा तोडफोड गरेको आरोप भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले लगाएका छन् । सिन्डिकेट प्रणाली अन्तरगत बस चलाउँदै आएकाहरुले सुविधायुक्त बस सञ्चालन गर्न नदिने भन्दै फोनमा धम्की दिएपछि बसमा तोडफोड गरेको अध्यक्ष गिरले बताए ।

उनले कृष्णसार यातायात समिति बर्दियाका अध्यक्ष शम्भु रिजालले आफ्ना बस सञ्चालनमा अवरोध पु¥याएर बर्दियाबाट चल्न नदिने भन्दै फोनबाट पटक–पटक धम्की समेत दिएको बताए । सरकारले समेत सिण्डिकेट खारेज गरेको अवस्थामा आफुहरुले सेवा बढाएर यात्रुको सेवामा आउँदा समितिले स्वागत गर्नुको साटो गुण्डा प्रयोग गरी तोडफोडमै उत्रिनु दुखद भएको अध्यक्ष गिरीको भनाई छ ।

भेरी यातायात प्रालिको बस सेवा सुरु नहुँदै नेपालगन्जस्थित कारकाँदोमा ना ६ ख ८४४४ नम्बरको बस र ना ६ ख ७८९२, ना ६ ख ८४३९ नम्बरको बस लगायत अन्य दुई वटा बस समेत सिण्डिकेट पक्षधर यातायात व्यवसायी समितिले परिचालन गरेका व्यक्तिको समूहले तोडफोड गरेको अध्यक्ष गिरीको आरोप छ । तोडफोडबाट बसको अगाडिको सिसा, पछाडिका दुईवटा शिशाहरु र लुकिङ्ग ग्लासहरु फुटेका छन् । बसका शिशाहरु फुटाईपछि भेरी यातायत प्रालिले तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा लिखित निवेदन दिएको प्रालिका सञ्चलक तथा कानुनी सल्लाहकार प्रमोद धितालले जानकारी दिए ।

यसैबिच कृष्णसार यातायात समितिले भेरी यातायात प्रालिले बस सञ्चालनमा ल्याएको विरोध गर्दै आफ्ना सबै यातायातका साधन बन्द गरेको छ । वर्दिया जिल्लाका विभिन्न स्थानबाट काठमाडौ लगायतका क्षेत्रमा नियम विपरीत गाडी सञ्चालन गरेको भन्दै कृष्णसार यातायात बस व्यवसायी सङ्घले यातायातका साधनहरू बन्द गरेको हो ।

उता, कृष्णसार यातायात समितिका अध्यक्ष शम्भु रिजालले भेरी यातायात प्रालिको बस तोडफोडमा आफ्नो समिति र समितिका कुनैपनि कर्मचारीको संलग्नता नभएको दाबी गरेका छन् । उनले आफूले भेरी यातायातका बस चल्न नदिनको लागि तर्साउने, धम्काउने र तोडफोड गर्न लगाउने जस्ता कार्यमा आफू कतै नलागेको स्पष्ट पार्दै आफू सिन्डिकेट पक्षको समेत नभएको बताए । उनले भेरी यातायातले तोडफोडमा संलग्न भनेर आफ्नो नाम अनावश्यक रूपले लिएको प्रति दुःख व्यक्त गरे ।