काठमाडौं, ३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल हराएको चर्चा चलिरहदा उक्त फाइल हराएको नभइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहेको खुलासा भएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषयमा जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको खुलासा गरेका हुन् । ‘नियुक्तिको माइन्युट हराएको छैन, प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं’, मुख्य सचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तलमाथि परेको होइन ।’
अख्तियार प्रमुख कार्कीविरुद्ध परेको रिट पुनरावलोकनका क्रममा सर्वाेच्च अदालतले भदौ १० मा फाइल झिकाउने आदेश दिएको थियो । त्यसमा प्रतिउत्तरपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले ‘भूकम्पका कारण फाइल भेट्टाउन नसकिएको र खोजी भइरहेको लिखित जवाफ दिएका थिए ।
उक्त लिखित जवाफप्रति असन्तुष्ट जनाउदै सार्वाेचले गएको शुक्रवार मात्रै सात दिनभित्र फाइल बुझाउन आदेश दिएको थियो । यदि सातदिनभित्र पाइल नबुझाएमा कानुनअनुसार कारबाही हुने समेत सर्वाेचले आदेश गरेको छ ।











