काठमाण्डौ, २२ बैशाख
एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलहरुलाई आह्वान गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज बिहानै बसेको एमाओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने र त्यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।pra

बैठकमा एमाओवादीले एमाले, कांग्रेस, राप्रपा नेपाललगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपील समेत गरेको छ । राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर माओवादीले राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’ उसले अगाडि भनेको छ, ‘यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ ।।’