काठमाडौं, ३१ भदौ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन मार्फत दुई देश बीचको आपसी सबन्धबारे चर्चा गरेका छन् । नेपालको शान्ति, स्थिरता र समृद्धि दुबै देशको साझा उद्धेश्य भएको पत्रकार सम्मेलनमा बताए ।

prachandसंयुक्त संवोधनमा शूरुमा बोलेका भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नजिकको छिमेकी रहेको कारण भारतले नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न अवसर पाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेलेको बताउदै प्रचण्डकै नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि क्रेडिट लाइन सम्झौता भएको बताउदै यसले भूकम्प प्रभावित भएकाहरुलाई ठूलो राहत पु¥याउने विश्वास लिएको बताए । त्यस्तै तराईको सडक सञ्जाल, ट्रान्समिसन लाइन, कास्कीमा पोलिटेक्निक इन्सिटिच्युट बारेमा पनि सम्झौता हुनुका साथै दुई देशको सुरक्षाको बारेमा पनि छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री मोदीको संबोधनपछि बोलेका प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बर्ष नेपालले ऐतिहासिक रुपमा संविधान निमार्ण गरेको बताउदै त्यसप्रति आशंका नगर्न आग्रह गरे । उनले मधेशमा उत्पन्न समस्या समाधानका लागि भारतको सहयोग पनि महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको आपसी सहकार्यबाट नै ब्यापार, विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति हुने बताउदै नेपालको विकासमा निम्ति भारतले विभिन्न आयोजना मार्फत गरेको सहयोगको स्मरण गरे ।

मोदीको जलविद्युतमा सहयोग गर्ने प्रतिवद्धता

यसैबीच नेपालको जलविद्युत विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा थप सहकार्य गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । शुक्रबार हैदरावाद हाउसमा द्धिपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् ।

यस्तै प्रधानमन्त्री मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस भन्ने भारतको चाहना भएको बताएका छन् । उनले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तरगत हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गरे । भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानमा समेटिनु पर्ने आवाजलाई संवादको माध्यमबाट सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास गर्न सकोस भन्ने चाहना पनि व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भने – ‘म विश्वस्त छु, नेपालका नेतृत्वले संविधानमा सबै पक्षको समावेशीताका लागि आवश्यक संवाद गरी कार्यान्वयन गर्नेछ ।’ प्रधानमन्त्री मोदीले मित्रताको इतिहासमा प्रधानमन्त्री दाहालको यस कार्यकालको पहिलो विदेश भ्रमण भारतमा भएकामा खुसी व्यक्त गरे ।