काठमाडौँ, ३१ भदौ । विद्यालय तहमा हुने गलत क्रियाकला न्युन गर्न बिद्यालयमा उजुरी पेटिका राख्नै पर्ने नयाँ नियम बनाईएको छ ।
बिद्यालयमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, बुलिङ्ग तथा अन्य गलत गतिविधिलाई न्यून गर्न विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने नयाँ नियम बनाइएको हो । नियम बनाइए पनि अझै कतिपय विद्यालय यसबारेमा अनभिज्ञ नै छन् ।
विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक वसन्त कोइरालाले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई हरेक विद्यालयमा उजुरी पेटिकाको व्यवस्था गर्न परिपत्र गरिएको जानकारी दिँदै कक्षा ६ देखि १२ सम्मका विद्यालयमा यस्तो पेटिका राख्नै पर्ने बताउनुभयो ।
विद्यालय तहमा हिंसा र दुव्र्यवहार निकै हुने गरेको विभिन्न अध्ययनले पनि देखाएका छन् । यसले गर्दा छात्राको बीचैमा विद्यालय छाड्ने दर बढी भएको तथ्य शिक्षा विभागले सार्वजनिक गरिसकेको छ । तराईमा यस्ता घटनाबाट छात्रा बढी पीडित हुने गरेका छन् ।











