महोत्तरी, २८ भदौ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आतङ मचाउनु नेपालीहरुका लागि कुनै नौलो विषय होइन । समय समयमा सीमा क्षेत्रमा एसएसबीले सीमा क्षत्रेमा नेपालीहरुमाथि कुटपटि गर्ने, दुव्र्यवहार गर्ने, उनीहरुको सम्पत्तीमा आतंक मचाउदै आएको छ । सोही क्रममा महोत्तरीको मटिहानी गाविसमा सोमवार दिउँसो दुईजना नेपालीमाथि निर्घात कुटेपिट गरेको छ ।
दिउँसो ३ बजे भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिएका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीय बासिन्दा गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् । एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन् ।
मधवापुर बजारबाट दुईजना भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरुलाई रोक्न भनेका थिए । तर उनीहरु त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट बेपत्ता भए । तर, मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका गणेश चौधरी र महेश महतोलाई नै एसएसबीले तस्करीमा संलग्न रहेको भन्दै निर्घात कुटपिट गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका चौधरी र महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।











