कास्की, २८ भदौ । तपाईँले एक्कासी ठूलो परिमाणमा सुन भेटाउनुभयो भने के गर्नुहुन्छ ? कि तपाइँले आफैले लुकाउन कोसिस गर्नुहुन्छ । कित कस्को होला भनेर सम्बन्धीत व्यक्तिलाई खोज्नुह्न्छ । यो दबै तपाइँको इमान्दारिता र नियतमा भरपर्छ । तर पोखराका एकजना सहायक वसचालकले आफूले भेटाएको दश तोला सुन इमान्दारी पूर्वक सम्बन्धीत व्यक्तिलाई वुझाएका छन् ।
जब स्याङजा सिर्सेकोट–९ की केशरी अधिकारी भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कदै थिइन् । घर आउन उनी गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १६ ३४२० नम्बरको बस चढिन् । बुटवलबाट स्याङजा हुँदै पोखराका लागि आएको उक्त बसमा अधिकारीले गल्याङबाट बायाँटारीसम्मको यात्रा शुरु गरिन । दिउसो करिब ३ बजे बस बायाँटारी आइपुग्यो । उनी वसबाट झरिन र आफ्नो गन्तव्यतर्फ पाइला लागिन । । बस पोखरातर्फ अगाडी वढ्यो ।
अधिकारी जब घरमा पुगिन्, उनको होस हवास नै उड्यो । छाँगाबाट खजेजस्ती भइन । नहुनु पनि कसरी जीवनमा दुःखजेलो गरेर कमाएको सम्पत्तीले जोडेको करिब १० तोला सुन हराएपछि । तिजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखेकी उनको सुन हरायो । सुन राखेको झोला नै उनले वसमा छोडिछन् ।
सुन राखिएको झोला छोडिएको बस साँझ जब पोखरा आयो बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारे । कुनै यात्रुले बसमा झोला छोडेको हुनसक्ने लागेर उनले झोला खोतले । झोलामा सुनैसुन देखिपछि उनलाई छटपटी भयो । कसरी सम्बन्धित व्यक्तिलाई झोला बुझाउने भन्ने सोच्न थाले । झोलामा केशरी अधिकारीको परिचयपत्रमा सम्पर्क नम्बर लेखिएको भएपनि उक्त नम्बरमा फोन लागेन । एकपटकमा फोन नलागेपनि खत्रीले पटक पटक गरे । फोन अफ थियो । त्यसपछि उनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगे र आफूले फेला पारेको झोला बुझाइदिए ।
झोला छोड्ने अधिकारी परिवारलाई पत्ता लगाउन समितिका कर्मचारीहरु खटिए । उता अधिकारी परिवारले पनि झोला पाइने झिनो आशा बोकेर पोखरा बसपार्र्कमा सम्पर्क गरे । अधिकारी परिवारको पहिलो सम्पर्क थलबहादुर बरुवालसँग भयो । उनी एउटा बसका चालक थिए । उनले समितिमा अधिकारी परिवारको गुनासो सुनाइदिए । त्यतिबेलासम्म इमान्दार सहचालक क्षेत्रीले झोला ल्याएर समितिमा बुझाइसकेका थिए । समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन आग्रह गरे । सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरेर अधिकारी परिवारले करिब १० तोला सुनसहितको झोला सोमबार बुझे । झोलामा मंगलशुत्र १ थान, औठी २ थान, चन्द्रमा, १ थान, पाउजु १ थान, खुट्टाचाँद औठी २ थान, बाला २ थान, चुरा २ थान, घडी १ थान र नगद ३ हजार ४ रुपैयाँ थियो ।