काठमाडौँ, २७ भदौ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणका लागि ६ महिना अवधि थप गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई अतिरिक्त ६ महिनाको समय थप गरेको हो ।

malamchi-624x334आयोजनाको सुरुङ निर्माण गरिरहेको ठेकेदार पक्षले उक्त अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १ सय ८२ दिनको समय थप गरिएको हो । भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएको र यस अवधिमा ठेकेदारले काम गर्न नपाएकाले म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।

निर्देशक भट्टराईका अनुसार समिति र ठेकेदारबीच १ हजार ९५ दिनभित्र मेलम्चीको सुरुङ खनिसक्ने सम्झौता भएको थियो । तर, सम्झौता अवधि असोज १५ मा सकिदैछ । २०७० असारमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको बाँकी २० किलोमिटर लामो सुरुङ निर्माण ठेक्का सकारेका ठेकेदार इटालीयन को–अपेराटिभा मुरातोरी एण्ड केमेन्टेस्टी (सीएमसी) र भारतको दि—राभेनाले जिम्मा लिएका छन् ।