samsadकाठमाडौँ, २७ भदौ ।  सभामुख ओनसरी घर्र्तीले बिनासूचना संसद् बैठकमा अनुपस्थित सांसदको स्थान रिक्त गरिने चेतावनी दिनुभएको छ । संसद्मा आवश्यक गणपूरक सङ्ख्या नपुगेर महत्वपूर्ण विधेयकसमेत पारित हुन नसक्ने अवस्था आएपछि सभामुखले सदनको उपस्थितिलाई अनिवार्य बनाउन रुलिङ गर्नुभएको छ ।

व्यवस्थापिका संसद्को बैठकमा सभामुखले संविधानको धारा ८९(घ) को व्यवस्थामा सांसदलाई जानकारी गराउददै बैठकमा सहभागी हुन सम्बन्धित सांसदको ध्यानाकर्षण गराउनुभएको थियो । संविधानको धारा ८९ (घ) अनुसार दस पटकभन्दा बढी लगातार बिना सूचना अनुपस्थित भएमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ ।

केही सांसद लामो समयदेखि बिनासूचना विदेशमा रहँदा र संसद्मा कोरम नपुगेकामा सभामुखको सक्रियता नभएको आलोचना भएपछि यस्तो रुलिङ गर्नुभएको हो । गत शुक्रबारको बैठकमा पनि आवश्यक गणपूरक सङ्ख्या नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।

सांसदहरू संसद्मा हाजिर गरेर गैरसरकारी संस्थाको कार्यक्रममा गएका थिए । यस्तै दल र सभामुखको समन्वयको अभावका कारण शुक्रबार संसद् बैठक चलिरहेकै अवस्था संसदीय समिति बैठक पनि राखिएको थियो ।