इन्द्रेणी संवाददाता
जाजरकोट, २७ भदौ । मध्यपश्चिमको विकट जिल्लाको रुपमा रहेको जाजरकोटमा पछिल्लो समयमा आयोजना बन्दै गएका छन् । कतै लघुजलविद्युत आयोजना सम्पन्न भइसकेका छन् त कतै त्यसभन्दा ठूला जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् । त्यसैमध्यको एउटा जलविद्युत आयोजना हो नलसिंहगाड जलविद्युत आयोजना ।
विगत लामो समयदेखि अध्ययनमै रहेको नलसिंहगाड जलविद्युत आयोजनाको अहिले विस्तृत आयोजना प्रतिवेदन ‘डीपीआर’ को तयारी तीब्ररुपमा भइरहेको छ । आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएपछि डीपीआरको काम तीव्र पारिएको हो । आयोजनाका अनुसार अबको ३० महीनाभित्र आयोजनाको डीपीआरको काम पूरा हुने बताइएको छ । आयोजनाले डीपीआर निर्माणका लागि अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलिया, एमडब्ल्यूएच अमेरिका र उदय कन्सल्ट नेपाल जेभीसँग सम्झौता भएको बताएको छ । तोकिएको समयभित्र डीपीआरको काम पूरा नभए थप ६ महीना समय दिइने आयोजनाका डिभिजनल इञ्जिनीयर नरेशसिंह भण्डारीले बताउनुभयो । डीपीआरअन्तर्गत जलमापन आँकलन, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटोमाइजेशन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययनको काम हुनेछ ।
सो आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय १० मेगावाट रहेको छ । ‘डीपीआर निर्माणका लागि १ अर्ब ११ करोडको लागत एष्टिमेट गरिएपनि परामर्शदाताले ९४ करोडमा नै कामको जिम्मा लिएको भण्डारीले जानकारी दिनुभयो । २०७८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरू भएको आयोजनाको लागत १ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।