काठमाण्डौ, २६ भदौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले बनाउँदाबनाउँदै च्यातिएको संविधानले जनताको भावना कदर गर्न नसक्ने बताएका छन् । जनअधिकार अभियान नेपालले राजधानीमा गरेको अन्तक्र्रियामा बोल्दै उनले अहिले आएको मस्यौदाअनुसारको संविधान आफ्नो पार्टीले स्वीकार नगर्नेसमेत स्पष्ट पारेका छन् । 
‘बल्ल संविधानको मस्यौदा आएको छ, मस्यौदा आउँदाआउँदै जलाउने र च्यात्ने काम भएको छ, यसले जनताको भावना समेट्न सक्दैन,’ उनले भने, ‘यस्तो संविधान मानिदैन, यसका विरुद्ध संघर्ष गरिन्छ । चन्दले कांग्रेस–एमालेले जनयुद्धकारी शक्तिसँग गरेको सम्झौताबाट पछाडि हटेर संविधान लाद्न नपाउने पनि बताए।
उनले अहिलेको संविधानको मस्यौदामा ०१५ र ०४७ को अवशेष भेटिएको पनि दाबी गरे। जनताले शान्ति र समृद्धि नपाए क्रान्ति अनिवार्य बन्न जाने उनको भनाइ थियो। ‘हामी संविधानविरोधी होइनौँ, पराजित र असफल नीति–नियम लाद्ने हो भने आँधीबेहरीसहितको क्रान्तिले संविधान लेख्छ,’ उनले भने, ‘जनताले शान्ति र समृद्धि नपाए क्रान्ति आवश्यक हुन्छ, क्रान्तिलाई कानुनको बारले छेक्दैन।’
आफूहरूले शान्ति, रूपान्तरण, निकास, परिवर्तन र आत्मनिर्भर अर्थतन्त्र चाहेको भन्दै उनले यसका लागि संघर्ष वा आत्मसमर्पण विकल्प भएको बताए। उनले राजनीतिक सम्मेलनमार्फत सहमति र निकास दिने अर्को विकल्प पनि कायम रहेको बताए। चन्दले आफूहरूले कांग्रेस, एमाले र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबाट धोका पाएको दाबी गरे ।।











