काठमाडौ, २६ भदौ। 
प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्रको आन्तरिक एकता बलियो बनाएर संविधान कार्यन्वयन गर्ने जिम्मेवारी रहेकाले आफ्नो आसन्न भारत भ्रमणलाई लिएर अनावश्यक शंका नगर्न आग्रह गर्नुभएको छ । मधेस समस्या सम्वोधनका लागि दलहरुवीच सहमति गरेर संविधान संसोधन गर्ने गृहकार्य भइरहेको दाहालको भनाइ छ । prachandसंसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै दाहालले मधेसको मुद्धा सम्वोधनका लागि आफूले अघि सारेको सहमतिको सूत्रमा प्रतिपक्षी एमाले समेत सहमत हुने बताउनुभयो । भारत भ्रमण अघि नै संविधान संसोधन प्रस्ताव लैजान चाहेपनि त्यो सम्भव नभएको उहाँको भनाइ छ ।

भारत भ्रमणलाई आफूले चुनौतीपूर्ण ठानेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले दुई देशवीचको सम्वन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय हित विपरित कुनै सम्झौता नहुने बताउनुभयो । समिति बैठकमा सांसदहरुले भारत भ्रमणमा राष्ट्र हित विपरित हुने कुनै सम्झौता नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।।