उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको जलविद्युत आयोजनामा लगानी गर्छु भन्नेहरुको लाइन व्यवस्थापन गर्न आफुलाई हम्मे हम्मे परेको बताउनुभएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघको तेस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री शर्माले अष्ट्रेलिया, चाइनादेखि भारतसम्मका कम्पनीहरु जलविद्युत आयोजनामा लगानी गर्छु भनेर लाईन लागेको बताउनुभएको छ ।
लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेको बेला यसलाई आफुले सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नको लागि केही असहज वातावरण भएपनि लगानीकर्ताको अभाव नरहेको मन्त्री शर्माको भनाइ छ ।
उहाँले आफ्नो कार्यकालमा लगानी मैत्री वातावरण निर्माण गरी ६ महिनाभित्र केही न केही परिणाम देखाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बत्ती बाल्ने चेतनाले मात्र नेपालको जलविद्युत क्षेत्र उँभो नलाग्ने भन्दै मन्त्री शर्माले उत्पादित विजुली निर्यात गर्नुको साटो स्वेदशी उद्योगधन्दामै खपत गर्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।।
