प्रकाश पुन
दाङ, २५ भदौ । नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरले मगर वाहुल्य जिल्लाहरुलाइ टुक्र्याइएकोप्रति आपत्ति जनाउनुभएको छ । मगर समुदायले आफुहरुको पहिचान र अधिकारका लागी मगरात प्रदेश स्थापनाको माग गरिरहेको अवस्थामा मगरहरुको वाहुल्य रहेको राप्तीको रुकुम र सल्यान जिल्लालाइ टुक्र्याइएकोप्रति आपत्ति जनाउनुभयो ।
आज दाङको घोराहीमा भएको राप्ती अन्चल स्तरीय मगरात भेलामा वोल्दै घर्तीले आफ्नो समुदायको उत्थानका लागी अव शसक्त ढंगले अघि वढ्ने र अधिकार प्राप्तीका लागी जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको वताउनुभयो । दाङ सहित राप्तीका जिल्लावाट भेला भएका मगरहरुले सिमांकन र प्रदेशको कुराले आफुहरुको अस्तित्व खतरामा रहेको गुनासो गरेका छन ।
आफ्नो समुदायको उत्थानका लागी अव एकजुट हुनुपर्ने आवश्यकता औल्याउदै उनीहरुले मगरभित्रको वहादुरी अझै कायम रहेको वताउदै आवश्यक परेको खण्डमा त्यो वहादुरी देखाउने वताए । एकीकृत मगराँत पहिचान र अधिकार सहितको संघीयता हाम्रो अडान, मगराँत प्रदेश स्थापनाका लागी साझा अभियान भन्ने नाराका साथ भेला भएको हो । नेपाल मगर संघका केन्द्रिय सदस्य सावित्रा रानाको अध्यक्षता तथा संघका केन्द्रिय उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
भेलामा नेपाल मगर संघका सल्लाहकार तुलसी राना, अठार मगराँत भाष संस्कृति संरक्षण समितिका केन्द्रिय अध्यक्ष चन्द्रज्योति वुढा मगर लगाएतले वोल्नुभएको थियो । दाङ सहित, रोल्पा, रुकुम, सल्यान र प्युठानवाट गरी झण्डै १ सय ५० जनाको सहभागिता रहेको थियो । भेलाको सहजीकरण संघका केन्द्रिय सदस्य दरजीत रोका मगरले गर्नुभएको थियो ।।
