काठमडौ २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालप प्रचण्डले आज व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
भूकम्पपछिको पुननिर्माणको अवस्था र राहतको अवस्था, आफ्नो आसन्न भारत भ्रमणलगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने तयारी भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । गत साउन १९ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका प्रधानमन्त्रीले निर्वाचित भएको एक महिनापछि संसदलाई संशोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीको सम्बोधन सकिएपछि भन्सार सम्बन्धी महासन्धिमाथि छलफल गरी अनुमोदन गर्ने संसदको आजको कार्यसूची छ ।
त्यस्तै सवारी तथा यातायात दोस्रो संशोधन विधेयक, भूमिगत जलस्रोत विधेयकलगायतका विधेयक पनि आज संसदमा प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । यस्तै विधायन समितिको प्रतिवेदनसहित न्याय सेवासँग सम्बन्धित ३ वटा विधेयक पनि आज पारित हुने सक्ने उहाँले बताउनुभयो ।
