वाँके, २० भदौ ।
मानव तस्करीका लागि प्रमुख गन्तव्य बन्दै आएको भारतबाट नेपाली महिलालाई किर्गिस्तानसम्म पुर्याउन नेपालगन्ज नाका प्रयोग भइरहेको खुलेको छ। किर्गिस्तान जाने भन्दै भारत जान थालेका महिलालाई नेपालगन्ज–रुपैडिहा सीमामा रोकेपछि उक्त घटना सार्वजनिक भएको हो। सीमाबाट उद्धार गरिएका उनीहरूले भारतको दिल्ली हुँदै किर्गिस्तान जान थालेको बताएका छन्।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मानव तस्करहरूले नेपालगन्ज हुँदै भारतको दिल्ली पुर्याउने र त्यहाँबाट खाडी मुलुक पठाउँदै आएका छन्। खाडी मुलुकमा काम गर्न नेपालले खुला गरे पनि भारतको बाटोलाई अवैधानिक मानेको छ। २०१६ जनवरीयता किर्गिस्तान जाने भन्दै भारत जान लागेका १६ महिलालाई प्रहरीको सहयोगमा नेपालगन्ज सीमामा रोकिएको छ।
उनीहरूले भारतको दिल्लीमा भीसा बनाएर त्यहाँ जाने बताएका छन्। ‘अरू मुलुकभन्दा किर्गिस्तानमा बढी कमाइ हुन्छ। घरभित्रै काम पाइने भएकाले त्यहाँ जान थालेको हो,’ उद्धारपछि सीमास्थित माइती नेपालको सेल्टरमा राखिएकी किशोरीले भनिन्, ‘पासपोर्ट बनाउन मात्रै खर्च भयो। भीसा निस्शुल्क पाउने र राम्रो पैसा कमाउने प्रलोभनमा त्यहाँ जान खोज्दा सीमामा रोकियो।’
त्यसरी सीमाबाट उद्धार गरिएका अधिकांश २० वर्षमुनिका छन्। उनीहरू यसअघि कहिल्यै पनि भारत गएका थिएनन्। मानव बेचबिखनविरुद्व कार्यरत संस्था माइती नेपाल नेपालगन्जले नेपाली महिलालाई खाडी मुलुक र किर्गिस्तान पुर्याउन नेपालगन्ज नाका प्रयोग भइरहेको जनाएको छ। ‘खाडी मुलुक जानका लागि महिलालाई नेपालगन्ज हुँदै भारत लगिएका थुप्रै घटना छन्। तर, किर्गिस्तानको कुरा पहिलो पल्ट आएको छ।।