खोटाङ, भदौ १९
गर्भपतन गराउने क्रममा खोटाङको धितुङ–६ कि तलकुमारी राईको ज्यान गएपछि जिल्ला अस्पताल दिक्तेलमा तनाव सिर्जना भएको छ । गर्भपतनकै कारण पाठेघर सफा गर्ने क्रममा स्वास्थ्यकर्मीको कमजोरीले सिकिस्त बिरामी भएकी ३९ वर्षे तलकुमारीको ज्यान गएको आफन्तले बताएका छन् ।
पाठेघरमा उपकरण छिराएर सफा गर्ने बित्तिकै पेट फुल्ने, बान्ता हुने, श्वासप्रस्वासमा समस्या हुने, खाना खान नहुने, दिशापिसाव रोकिने, नाकबाट रगत मिसिएको पानी निस्कनेलगायतका समस्या देखिएपछि बिरामी बनेकी राईको उपचारका लागि राजधानी लैजाने क्रममा आइतबार बाटैमा ज्यान गएको हो ।
अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद शाहले पाठेघर सफा गरेपछि सिकिस्त बनेकी राईको हवाईजहाजबाट काठमाडौं लैजानकालागि खानीडाँडा बिमानस्थल लैजानेक्रममा ज्यान गएको बताउनुभयो । पाँच छोरी र दुई छोरा भएकी तालकुमारी श्रीमान् चन्द्र किरातीसँग तीन महिनाको गर्भपतनका लागि बुधबार जिल्ला अस्पताल आइपुग्नु भएको थियो ।
पाठेघर सफा गर्ने क्रममा उपकरणले पाठे घरमा प्वाल पारेका कारण महिलाको ज्यान गएको आफन्तको भनाई छ । पाठेघर सफा गर्ने क्रममा भुलवस कमजोरी हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।।











