umlघोराही १७ भदौ । नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिने भएको छ । प्रतिनिधि छनौट नरोकिने एमाले दाङले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

विज्ञप्तीमा भदौ १७ गते शुक्रबारका दिन नै प्रतिनिधि चयन गरिने उल्लेख छ । तर एमाले दाङका सचिव हुकुमवहादुर बस्नेतले बुधवार मात्रै विज्ञप्ति जारी गरि प्रतिनिधि छनौटको कार्य अर्काे सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरेको जनाएका थिए ।

तर त्यसको दोस्रो दिनमा एमाले दाङ जिल्ला अध्यक्ष जोगवहादुर राना र संगठन विभाग प्रमुख हिराचन्द्र केसीले विहीबार संयुक्त रुपमा प्रेश विज्ञप्ती प्रकासित गरि शुक्रवार अर्थात निर्धारित मिति मै  जिल्ला व्यापी रुपमा प्रतिनिधी छनौटको कार्य हुने उल्लेख गरेका छन् । राना र केसीले विज्ञप्ति मार्फत प्रतिनिधि छनौट कार्यमा  सहभागि हुन आम संगठित सदस्यहरुलाई आग्रह पनि गरेका छन् ।

गाविसले गाविसस्तरिय भेला गर्ने र नगरपालिकामा वडास्तरिय भेला गरेर प्रतिनिधि छनौट गरिने उल्लेख छ ।  उक्त कुरा यस अघि नै निर्देशन गरि सकिएकोले सोही अनुरुप प्रतिनिधि छनौट गर्न विज्ञप्ति मार्फत  आग्रह गरिएको छ ।

प्रतिनिधी छनौट गर्दा महिला र दलित सदस्यहरुको हकममा चार जना बरावर एक जनाका दरले र अन्य सदस्यहरुको हकमा सात जना बरावर एक जना प्रतितिधी छनौट गर्ने व्यवस्था गरिएको छ ।

यस्तै मुस्लीम र अल्पसंख्यकको हकमा दुई जना बरावर एक जनाका दरले प्रतिनिधी छनौट गर्न भनिएको छ । विज्ञप्तीमा जिल्ला अधिवेशनको काम तिव्र रुपमा अघि बढेको भएपनि केही दिन यता केही भ्रमपूर्ण प्रचार गरिएकोले त्यस्तो भ्रममा नपर्न आग्रहपनि गरिएको छ ।

निर्धारित १७ गते सवै गाउँ पार्टी र नगरका वडामा भेला गरि प्रतिनिधी छनौट गर्न आग्रह गर्दै विज्ञप्तीमा कसैको भ्रममा नपर्न र अधिवेशनको काममा सक्रियताका साथ लाग्न पनि अनुरोध गरिएको छ । नेकपा एमाले दाङमा करिव चार हजार पाँच सय जना संगठित सदस्यहरु रहेको जनाइएको छ ।  संगठित सदस्यहरुबाट चुनिएर आएका प्रतिनिधीहरुले अधिवेशनमा भाग लिने पाउने व्यवस्था विधानमा उल्लेख छ ।