काठमाडौँ, १६ भदौ । भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् ।
बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ । टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ ।
भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ । औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ । पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् ।
ज्योतिष डा. सुनील सिटौलाका अनुसार, यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ । स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ । तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ । भाद« कृष्ण औँसीका दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।