sambidhanकाठमाडौँ, १६ भदौ । सरकारले असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसको रूपमा मनाउने भएको छ । तीन दिनसम्म देश विदेशमा संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा भव्यतासाथ मनाउने निर्णय भएको जानकारी गराएको छ ।

गृहमन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममार्फत सावर्जनिक गरिएको कार्यतालिका अनुसार दिवसलाई भव्य रूपमा सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा २६ सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीको संयोजकत्वमा २२ सदस्यीय प्रचार प्रसार उपसमिति, काठमाडौँ महानगरपालिका प्रमुख रुद्रसिंह तामाङको संयोजकत्वमा आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

तीनदिने कार्यक्रम अन्तर्गत असोज दुई गते सविधान दिवस भव्यताका साथ मनाउन सञ्चार माध्यमहरूबाट अपिल गर्ने, राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा सविधान विशेषाङ्क÷स्मारिकाको रूपमा प्रकाशन गर्नुको साथै त्यस सम्बन्धित लेख, रचना सँगालो प्रकाशन गर्ने तथा टेलिभिजन र रेडियोहरूबाट संवाद कार्यक्रम सञ्चालन गर्ने र साँझमा दीपावली गर्ने कार्यक्रम रहेको गृहमन्त्रालयका सहसचिव विनोद केसीले जानकारी गराउनुभयो ।

त्यस्तै असोज ३ गते नेपाली सेनाबाट बिगुल बजाउनुको साथै तोप पड्काउने, सहिदको सम्झनामा मठ, मन्दिर, मस्जिदलगायतमा पूजापाठ गर्ने, नेपाल टेलिभिजनबाट सविधानसम्बन्धी डकुमेन्ट्री प्रसारण गर्नेलगायत कार्यक्रम छ । सोही दिन बिहान ८ बजे सैनिक मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतको उपस्थिति हुनुहुनेछ । सोही कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की तथा सभामुख ओन्सारी घर्तीमगरले संयुक्त रूपमा शान्तिका प्रतीक परेवा उडाउनु हुनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विद्यार्थीद्वारा मार्चपास गर्ने, झाँकी प्रस्तुत गर्ने, रोचक कार्यक्रमहरू प्रस्तुत गर्ने, खेलकुद प्रदर्शन गर्ने र अन्त्यमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरी कार्यक्रमको समापन गरिने केसीले जानकारी गराउनुभयो ।

असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोकदोहोरी गीत सम्मेलनको आयोजना गरी प्रमाणपत्र वितरण गर्ने र सोही दिन साँझ दीपावली गर्ने कार्यक्रम छ । उपत्यका बाहिरका जिल्लाहरूमा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा सविधान दिवस जिल्ला समारोह समिति गठन गरी प्रभातफेरी, खेलकुद, प्रवचन, गोष्ठी, संवादलागयत विभिन्न सांस्कृतिक कार्यक्रम गरी साँझमा दीपावली गर्ने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ । उपमहानगरपालिका, नगरपालिका, गाविसहरूमा स्थानीयहरूको सहभागितामा त्यस्तै कार्यक्रमहरू गर्ने बताइएको छ ।