दीपबहादुर घर्ती
जाजरकोट, १५ भदौ ।
केहि वर्ष पहिले देखि खेति गर्दै आएका भेरीमालिका नगरपालिका ६ भेरेयाँका किसानहरुको टमाटर खेति डडुवा रोगले नष्ट भएको छ । रोग लागेर टमाटर खेती नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । टमाटरमा लागेको रोगका कारण डाँठ कुहिने, पात झर्ने, दाना कालो भएर कुहिने र झर्ने गरेको किसान पदमबहादुर पुनले वताए । टमाटर खेतीमा लागेको कुन रोग हो भन्नेवारेमा आफुहरुलाई ज्ञान नभएको पुनको भनाई छ । रोग लागेका टमाटरका विरुवा जिल्ला कृषि विकास कार्यालयमा लिएर देखाउदा कार्यालयले डडुवा रोग हो भन्ने गरेको उनको भनाई छ ।डडुवा रोग नियन्त्रणका लागि भनेर कृषि विकास कार्यालयले दिएको विषादी औषधी धेरै पटक प्रयोग गरि सक्यौं तर, रोग नियन्त्रणमा आउन सकेनको अर्का किसान पवन पुनले भने, आय आम्दानी गर्ने सोच राखेर टमाटर खेती गर्यौ तर रोगले सवै खेती नै नष्ट गरिदियो । सवै किसानहरुको वारीमा यो रोग लागेर टमाटर खेती नष्ट भएको पवनको भनाई छ ।
रोग लागेर टमाटर, मुला, बन्दा, आलु सिमीमा क्षेती पुर्याएको किसानहरुको भनाई रहेको छ । लाली गुराँस तरकारी समुह र कोशेली तरकारी समुह भित्र रहेर तमाटर खेती गरि रहेका किसानहरु वारीमा लगाएको खेती नष्ट भएपछि निकै चिन्तीत देखिएका छन् । टमाटर खेती टनेल भित्र गर्न खोज्दा टनेल निर्माणमै प्रत्येक किसानको धेरै खर्च भई सकेको हस्त बहादुर पुनको भनाई रहेको छ ।
टमाटर खेतीवाट वढी आम्दानी गर्ने मनसाय राखेका किसानहरुको खेतीका डडुवा रोग लागे पछि रोग नियन्त्रणका लागी कृषि विकास कार्यालयको सिफारिसमा विषादी प्रयोग गर्नुका साथै रोग लागेका पात, डाँठ र विरुवा नै उखेलेर खाल्डो खनेर गाड्दा पनि रोग नियन्त्रण हुन नसकेको ढोल बहादुर घर्तीको भनाई छ । रोग लागेर खेती नष्ट भएका किसानहरु झण्डै ५० घरधुरी रहेको उनको भनाई छ ।