samsadकाठमडौ १२ भदौ ।  बढ्दो सवारी दुर्घटनाको विषय संसदमा प्रवेश पाउने भएको छ ।

आज बस्ने व्यवस्थापिका संसद बैठकमा गाडी दुर्घटनाका कारण जनधनको क्षति भइरहेको विषयमा छलफल हुने भएको छ ।

विकास समितिका सभापति तथा नेकपा एमाले सांसद रवीन्द्र अधिकारीको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सदनमा छलफल हुने भएको हो । संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूचीमा प्रस्ताव छलफल गर्ने सूचना प्रकाशित गरिसकेको छ ।

संसद् बैठक आज बिहान ११ बजेपछि बोलाइएको छ । गाडी दुर्घटनाका कारण जनधनको क्षति बढेकाले सडक सुरक्षा कार्ययोजना कार्यान्वयनको समेत माग गरी अधिकारीले साउन ३२ गते प्रस्ताव गरेका गर्नुभएको थियो । प्रस्तावको समर्थनमा एमाले सांसद गणेशकुमार पहाडी र सङ्घीय समाजवादी फोरमका डा. शिवजी यादव समर्थक हुनुहुन्छ ।

सडक सुरक्षा कार्ययोजना सन् २०१३ देखि २०२० सम्म लागू गर्ने गरी तय भए पनि तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएकाले कार्ययोजना लागू गर्न माग गरिएको छ ।

यस्तै प्रस्ताव छनोट समितिले अधिकारीको प्रस्तावसँगै अन्य दुई प्रस्ताव पनि छलफलका लागि अनुमोदन गरेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र अनुराधा थापामगरले दर्ता गराउनुभएको सार्वजनिक महत्वको प्रस्ताव पनि छलफलका लागि स्वीकृत भएका छन् । सुवालले ख्वपः विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको छ ।