काठमाडौं, ११ भदौ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल एक खर्ब रुपैयाँ लगानी जुट्न सक्ने देखिएको छ ।
मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार सरोकार भएका निकायसँग गरेको छलफलको क्रममा यस्तो सम्भावना देखिएको हो ।
ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना गर्नुभएको छलफलमा सरोकार भएका निकायका प्रतिनिधिले भरपर्दो वातावरण तयार हुन सकेको खण्डमा मुलुकभित्रै झण्डै एक खर्ब रकम जोहो हुनसक्ने धारणा राख्नुभएको थियो ।
देश चरम ऊर्जा सङ्कटको मारमा परेको बेला कोही पनि चुप लागेर बस्न सक्ने अवस्था नरहेको भन्दै ती संस्थाका प्रतिनिधिले आफूहरु जलविद्युत् क्षेत्रमा लगानीका लागि तयार रहेको बताउनुभएको थियो ।





