घोराही, ११ बैशाख
दाङलाई सन् २०२० सम्ममा पुर्णसरसफाई युक्त जिल्ला बनाउने लक्ष्य अनुरुप पुर्ण सरसफाई कार्यक्रमलाई तिब्रता दिईएको छ । शुक्रवार दाङको घोराहीमा बसेको जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको बैठकले गाविसहरुमा पुर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्न विभिन्न गैरसरकारी निकायहरुलाई जिम्मेवारी दिएको छ ।

समितिका संयोजक एवं स्थानिय विकास अधिकारी रमेश गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न गैरसरकारी संस्थाहरुले माग गरे अनुसार दोहोरो जिम्मेवारी नहुने गरी गाविसमा पुर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

रुकुमेली समाज विकास केन्द्र रुकुमलाई पुरन्धारा गाविसलाई पूर्ण सरसफाई बनाउने जिम्मेवारी दिएको छ । केन्द्रले गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सँग मिलेर काम गर्न भनेको छ । यस्तै जनउत्थान विकास केन्द्रलाई लोहारपानी, काभ्रे र राजपुर गाविसमा पुर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसैगरी शान्ति निर्माण र विकासका लागि सहकार्य, चितवनलाई हाँसीपुर गाविसका सबै वडाहरुमा काम गर्न दिने निर्णय भएको छ । गैरसरकारी सस्थाहरुले गाविसमा पुर्ण सरसफाई कार्यक्रम सञ्चालन गरी सफा गाविस घोषणा गर्नुपर्ने छ ।

साथै बैठकले जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुगमन गर्ने ब्यबस्था मिलाउने निर्णय पनि गरेको छ ।।