इन्द्रेणी संवाददाता
घोराही, १ भदौ
दाङमा सन्चालित लागुऔषध दुव्यर्सनी विरुद्धको सचेतना अभियानलाई तीव्र बनाईएको छ । अभियान अन्तर्गत पहिलो चरणमा बजार क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सचेत बनाउने काम भईरहेको छ । अभियानको पहिलो चरणमा विद्यार्थीहरुलाई सचेत बनाएर समाज सुधार गर्न सकिने भएकाले विद्यार्थीहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम भईरहेको सामुदायीक प्रहरी सेवा केन्द्र दाङले जनाएको छ ।
सेवा केन्द्रका सचिव आर.के.शीतलले खास गरी बजार क्षेत्रमा रहेका युवाहरु दुव्यर्सनीमा फस्ने गरेकाले बजार क्षेत्रमा रहेका मावि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षीत गरेर कार्यक्रम भईरहेको र त्यसपश्चात उच्च मावि एवं क्याम्पसहरुमा चेतनामूलक कार्यक्रम गरिने जानकारी दिनुभयो । साथै विद्यार्थी केन्द्रित कार्यक्रम पश्चात अभिभावक लक्षीत कार्यक्रम गरिने पनि उहाँको भनाई छ ।
अभियान अन्तरगत मावि बालविकास मावि नयाँ बजारमा आज लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङको आयोजना एवं वडा प्रहरी कार्यालय घोराहीको समन्वयनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाज सुधारकालागी एवं लागु औषध दुव्यर्सन न्यूनिकरणकालागी विद्यार्थीहरुको महत्वपूर्ण भूमीका हुने बताएका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले विद्यार्थी एवं शिक्षकहरुलाई लागु औषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो । साथै उहाँले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिकको भूमीका लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।।