काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।परीक्षा बोर्डका अनुसार नियमित र आंशिकतर्फ ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
परीक्षाको नतिजामा नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ। नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।
बोर्डको बैठकले परीक्षामा अनियमितता गरेको ठहर भएका ४० परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।
परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/, एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने छ। नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म रिटोटलिङका लागि अनलाइन आवेदन दिन सक्ने परीक्षा बोर्डले जनाएको छ ।











