काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै २०५८ सालमा भएको दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो निर्णय गरेका छन् । २०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र शाहको सहपरिवारको हत्या भएको थियो ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूविरुद्ध लागेको आरोपबारेको प्रश्नमाथि टिप्पणी गर्दै गृहमन्त्री गुरुङले अन्याय भएको कदापि नसहने बताए । “ममाथि तथ्यहीन रूपमा आरोप लगाइएको छ। आफूमाथि जस्तोसुकै आरोप लगाए पनि म त्यो थेग्न सक्छु, तर नेपाली चेलीबेटीलाई दुःख दिएको र उनीहरूमाथि अन्याय भएको म कदापि सहन सक्दिनँ”, उनले भने ।











