काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसीको विषयमा छलफल लगतै मन्त्रिपषिदको बैठकबाट कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति जालझेल गरेको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे । प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठाए ।
“प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ । सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?” , ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने । उनले टीआरसीको छलफलमा कसैले पनि कुलमानको शब्द पनि उच्चारण नगरेको बताए ।











