काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।

“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।”

सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै उनले भने “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।”