नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताएका छन् ।
रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताएका हुन् । ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने संकल्प गरिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षको एसईईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताए। ‘अभियानले पूर्व विद्यार्थीहरूको योगदानलाई महत्व दिँदै थालनी गरिएको छ । अहिले चारैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन्,’ उनले भने ।
सरकार शैक्षिक संस्थाहरूको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकताका साथ अघि बढिरहेको पनि उनले बताए । विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको उल्लेख गरे।
प्रदेश सरकारले गत वर्षको एसईई नतिजालाई आधार मानेर शैक्षिक क्षेत्रको गुणस्तर मापन गरेको र त्यसलाई सुधार गर्ने प्रयासस्वरूप कारणहरूको खोजीमा लागेको पनि बताए ।











