दाङ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गरे । डिभिजन वन अधिकृत श्रेष्ठले यो बर्ष दाङमा तीन लाख बढी बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताए । जसका लागि ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढी बिरुवा रोप्ने छ । राष्ट्रिय बृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको उनले बताए ।

बैज्ञानिक पार्कमा पनि बृक्षरोपण
घोराही उपमहानगरपालिका वडा नं १ मा रहेको आधारभूत विद्यालय सिमलतारामा डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिएको बैज्ञानिक पार्कमा पनि राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरुका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमा लगायएको बिरुवा हुर्काएर हराभर गराउने प्रतिवद्धता ब्यक्त गरे ।

बसन्त हरियाली क्षेत्रमा पनि बृक्षारोपण

राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानीमा रहेको निर्माण भएको पोखरि र निर्माणाधिन पिकनिक स्पोट परिसरमा बृक्षारोपण गरिएको छ ।

वन समूहका अध्यक्ष पदम योगीको अध्यक्षता एंव डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो ।