विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिएका छन्।

प्रदेशसभामा राखेको विश्वासको मतको छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक मुख्यमन्त्रीसहित मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिएपछि अझै सुरु हुन सकेको छैन ।

मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिएका हुन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा समाजवादीले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन्।

एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए। १ जना सांसद मात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ। प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ। प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई मत नदिएमा प्रदेश मध्यावधि चुनावमा जाने चेतावनी समेत दिएका थिए ।