सल्यान । राप्ती लोकमार्ग र कपुरकोट बजारलाई उच्च जोखिममा पारेको खारा महिरो नियन्त्रणका लागि विहिबार वृक्षारोपण गरिएको छ । नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा कपुरकोट खारा पहिरो क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल सल्यानको आयोजनामा आर्थिक महत्व बोकेका विभिन्न प्रजातीका १५० बढी विरुवा रोपिएको संघका जिल्ला अध्यक्ष रुपक बुढाले जानकारी दिए । कर्णालीको प्रवेशद्वार कपुरकोट बजार र सल्यान जिल्लाको जीवन रेखाको रुपमा रहेको राप्ती लोकमार्ग पहिरोको उच्च जोखिममा रहेको भन्दै उनले पहिरो रोकथामका लागि वृक्षारोपण गरिएको बताए । वृक्षारोपणका लागि तेजपात, काउलो, रिठा, मलागेडी, लप्सी लगाएतका विरुवा उपलब्ध गराएर वनस्पति अनुसन्धान केन्द्र सल्यानले सहयोग गरेको थियो ।
मदन भण्डारी फाउण्डेशनका कर्णाली प्रदेश सदस्य तथा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले वृक्षारोपण गर्दै मदन भण्डारीको वहुपक्षिय योगदानको चर्चा गरेका थिए । वृक्षारोपण पश्चात कपुरकोटमा मदन भण्डारी फाउण्डेशन गठनका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो ।
यस्तै नेकपा एमाले कालिमाटी गाउँपालिकाले पनि मदन भण्डारीको जन्मजयन्तीका अवसर पारेर वृक्षारोपण सम्पन्न गरेको छ । गंगामाला भगवति मन्दिर परिसरमा वृक्षारोपण गरेर जन्मजयन्ती मनाइएको एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले जानकारी दिए ।
