काठमाडौं, २४ साउन । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए ।
जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजो शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।
अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डोज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डोज खोप खरिद गरेको छ । चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डोज खोप अझैसम्म आपूर्ति भएको छैन । रासस











